काठमाडौं, चैत्र १४, २०८२ — प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN) द्वारा आयोजित राष्ट्रिय शिक्षा संवाद–२०८२ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भव्य रूपमा सम्पन्न भएको छ। PAN केन्द्रीय समितिका अध्यक्ष सुदाम प्रसाद गौतम को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा क्षेत्रका विविध पक्षमा गहन बहस, विचार–विमर्श तथा नीतिगत सुझावहरू प्रस्तुत गरिएका छन्।
कार्यक्रमको सञ्चालन PAN का उपमहासचिव मिन आच्छामी ले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूलाई PAN का उपाध्यक्ष टिकाराम पाण्डे तथा कोषाध्यक्ष रिता तिवारी ले रुद्राक्षको माला लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका माननीय सांसदहरू, शिक्षा मन्त्रालयका उच्च पदाधिकारीहरू, पूर्व शिक्षा सचिवहरू, स्थानीय तहका प्रतिनिधिहरू, शिक्षा विज्ञहरू, शिक्षक महासंघका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। करिब १२० जना सहभागी रहेको उक्त कार्यक्रममा शिक्षा नीति, यसको कार्यान्वयन, संघीय संरचनामा शिक्षा व्यवस्थापन, शिक्षक तथा प्रिन्सिपलहरूको भूमिका, तथा व्यवहारिक र रोजगारमुखी शिक्षाका विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमका अध्यक्ष सुदाम प्रसाद गौतम ले नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक, प्रविधिमैत्री र परिणाममुखी बनाउने आवश्यकता औंल्याउँदै नीति निर्माणभन्दा कार्यान्वयन पक्ष कमजोर रहेको उल्लेख गर्नुभयो। “नीति धेरै छन् तर कार्यान्वयन प्रभावकारी छैन। अब हामी सबै सरोकारवालाबीच सहकार्य गर्दै शिक्षा प्रणालीलाई समयअनुकूल रूपान्तरण गर्नुपर्छ,” वहा ले भन्नुभयो। वहा ले शिक्षक र प्रिन्सिपलहरूको भूमिकालाई केन्द्रमा राख्दै शिक्षा सुधार सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धर्म के.सी. ले शिक्षा प्रणालीलाई जीवनोपयोगी र सीपमुखी बनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “हामीले दिने शिक्षा विद्यार्थीको दैनिक जीवनसँग जोडिनुपर्छ। प्रमाणपत्र मात्र होइन, सीप र क्षमता विकास गर्ने शिक्षा आजको आवश्यकता हो।” नेकपा एमालेका सांसद ऐन महर ले संघीय संरचनामा शिक्षा व्यवस्थापन स्पष्ट नभएको भन्दै, “संघ, प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारी स्पष्ट नहुँदा कार्यान्वयनमा समस्या आएको छ,” वहा ले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्मा ले सामुदायिक विद्यालयको सुदृढीकरणमा जोड दिँदै, “गुणस्तरीय सार्वजनिक शिक्षा बिना सामाजिक समानता सम्भव छैन,” वहा ले भन्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अली ले शिक्षा प्रणालीलाई राष्ट्रिय आवश्यकता र पहिचानसँग जोड्नुपर्ने बताउँदै, “हाम्रो शिक्षा प्रणालीले राष्ट्रिय मूल्य र सीपलाई समेट्न सकेको छैन,” वहा ले उल्लेख गर्नुभयो। श्रम संस्कृति पार्टीका आर्यन राई ले श्रम–आधारित शिक्षामा जोड दिँदै, “शिक्षाले श्रमप्रति सम्मान सिकाउनुपर्छ, तब मात्र रोजगारीको समस्या समाधान हुन्छ,” वहा ले बताउनुभयो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटा ले सरकारले शिक्षा सुधारका लागि नीतिगत पहल गरिरहेको जानकारी दिँदै भन्नुभयो, “नीति निर्माणसँगै यसको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय गम्भीर छ, र स्थानीय तहसँग समन्वय गर्दै परिणाममुखी शिक्षा प्रणाली निर्माण गर्ने प्रयास भइरहेको छ।”
शिक्षा विज्ञ विद्यानाथ कोइराला ले नेपालको शिक्षा प्रणाली अझै सैद्धान्तिक रहेको उल्लेख गर्दै व्यवहारिक तथा रोजगारमुखी शिक्षाको आवश्यकता औंल्याउनुभयो। “शिक्षा प्रणालीलाई स्थानीय आवश्यकतासँग जोडेर सीपमूलक बनाउनु अत्यावश्यक छ,” वहा ले भन्नुभयो। त्यसैगरी हरि लम्साल ले शिक्षा नीति तर्जुमा र कार्यान्वयनबीचको अन्तरलाई प्रमुख चुनौतीका रूपमा औंल्याउँदै, “नीति निर्माणमा अनुसन्धानमा आधारित दृष्टिकोण आवश्यक छ, तर कार्यान्वयनमा समन्वय र दीर्घकालीन सोचको अभाव देखिन्छ,” वहा ले बताउनुभयो।
पूर्व शिक्षा सचिव महाश्रम शर्मा ले नीति निरन्तरताको अभावले शिक्षा प्रणालीमा अस्थिरता आएको धारणा राख्दै, “बारम्बार नीति परिवर्तनले दीर्घकालीन सुधारलाई असर गरेको छ,” वहा ले भन्नुभयो। ललितपुर महानगरपालिकाका शिक्षा निर्देशक देवी प्रसाद उपाध्याय ले स्थानीय तहको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिँदै, “अधिकारसँगै स्रोत र क्षमता अभिवृद्धि भए मात्र स्थानीय तह प्रभावकारी बन्न सक्छ,” वहा ले बताउनुभयो।
कार्यक्रममा सहभागी अन्य सरोकारवालाहरूले शिक्षक व्यवस्थापन, पेशागत विकास, प्रविधिमैत्री शिक्षा, निजी तथा सार्वजनिक शिक्षाबीच सन्तुलन, तथा रोजगारमुखी पाठ्यक्रम विकासमा जोड दिएका थिए। एक सहभागीले भन्नुभयो, “शिक्षक सशक्तीकरण बिना शिक्षा सुधार सम्भव छैन।”
यस कार्यक्रमको डिजिटल पार्टनरका रूपमा Teacher’s Co-Pilot को महत्वपूर्ण योगदान रहेको थियो। Teacher’s Co-Pilot एक डिजिटल एआई ड्राइभर प्लेटफर्मका रूपमा शिक्षकहरूलाई सशक्त बनाउने, कक्षा कोठालाई सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने दिशामा सक्रिय रूपमा कार्यरत रहेको छ। यसले पाठ योजना निर्माण, शिक्षण सामग्री विकास, विद्यार्थी मूल्याङ्कन तथा डिजिटल शिक्षण अभ्यासलाई सरल बनाउँदै नेपालको शिक्षा क्षेत्रमा नवप्रवर्तन ल्याउने प्रयास गरिरहेको सहभागीहरूले उल्लेख गरेका छन्।
PAN ले यस राष्ट्रिय संवादबाट प्राप्त निष्कर्ष तथा सुझावहरूलाई समेटेर सम्बन्धित निकायहरूमा औपचारिक रूपमा पेश गर्ने जनाएको छ। साथै, आगामी सरकार तथा प्रतिनिधि सभामा प्रस्तुत हुने शिक्षा सम्बन्धी नीति तथा कार्यक्रमहरूमा यी निष्कर्षहरूले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको समापन PAN का बरिष्ठ उपाध्यक्ष हेरम्ब कँडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो। PAN ले उक्त संवादलाई नेपालको शिक्षा क्षेत्रको नीतिगत सुधार, सहकार्य र समन्वयका लागि महत्वपूर्ण मञ्चका रूपमा लिएको जनाएको छ। साथै, कार्यक्रममा प्राप्त सुझाव र निष्कर्षहरूले नेपालको शिक्षा प्रणालीलाई अझ गुणस्तरीय, समावेशी र भविष्यउन्मुख बनाउने विश्वास व्यक्त गरिएको छ।