शिक्षा सम्वाददाता /सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षाको गुणस्तरको आधार कुन विषयलाई मान्ने भन्ने कुरा अहिले सोच्नुपर्ने समय आएको बताएका छन् ।
प्रधानाध्याप संघ नेपाल (पान) सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘पान डिस्ट्रिक एजुकेशन कनक्लेभ २०८२’ कार्यक्रम अन्तर्गत ‘गुणस्तरीय शिक्षाका लागि साझेदारी’ भूमिका र जिम्मेवारी विषयक छलफलमा बोल्दै मन्त्री भण्डारीले विद्यालय शिक्षालाई राम्रो बनाउन शिक्षक, विद्यार्थी, अभिभावक तथा तीनै तहका सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने औल्याएका हुन् ।
छलफलमा शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दिपा हमालले शिक्षालाई गुणस्तरिय बनाउन शिक्षामा लगानी बढाउनुपर्ने बताईन् । शिक्षामा पूर्वाधारसँगै सिकाई विकासमा पनि लगानी आवश्यक रहेको उनको भनाइ थियो ।

छलफलमा भाग लिदै अमरज्योति माद्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले शिक्षा सम्बन्धि सरोकारवाला सबैले तोकिएको जिम्मेवारी पुरा गर्न सके सामुदायिक विद्यालयको सिकाई विकास गर्न सकिने जनाए । त्यस्तै विद्यालय ब्यवस्थापन समिति महासंघ सुर्खेतका अध्यक्ष चन्द्रा खड्का लामिछानेले विद्यालय ब्यवस्थापन समितिले आफ्नो जिम्मेवारी ईमान्दारीपूर्वक निर्वाह गर्न सके विद्यालयको विकासमा टेवा पुग्ने बताईन् ।
त्यस्तै लेकबेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल र शिक्षा विकास तथा समन्वय ईकाइ सुर्खेतका प्रमुख महेशकेशर खनालले आ–आफ्ना धारणाहरु छलफलमा व्यक्त गरे ।
समतामूलक र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयको सःशक्तिकरण विषयक मुख्य थिमका साथ ‘पान डिस्ट्रिक एजुकेशन कनक्लेभ २०८२’ आयोजना गरिएको प्रधानाध्यापक संघ नेपाल (पान) सुर्खेतका अध्यक्ष दुर्गा शाक्यले बताईन् । उनले विद्यालय शिक्षा सुधार गर्न लागि प्रधानाध्यापकसँगै सम्बन्धित सबै सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको औल्याईन् ।
