संखुवासभा – प्रिन्सिपल्स एसोसिएसन नेपाल (पान) को आयोजनामा संखुवासभाको खाँदवारीमा पहिलो पटक “पान ड्रिस्ट्रिक्ट एजुकेशन कनक्लेभ” सम्पन्न भएको छ। शिक्षा सुधार, गुणस्तर अभिवृद्धि र सामुदायिक विद्यालयहरूको सशक्तिकरणका विषयमा केन्द्रित यस भेला जिल्लाभरका शिक्षक, शिक्षाप्रेमी, स्थानीय सरकारका प्रतिनिधि, शिक्षा व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बरूण बहुमुखी क्याम्पस खाँदवारीका सह–प्राध्यापक रुद्रनाथ दाहालले “समतामूलक र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयको सशक्तिकरण” विषयमा कार्यपत्र प्रस्तुत गर्दै शिक्षाको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे विस्तृत जानकारी दिएका थिए। उनले नेपालको शिक्षा क्षेत्रले पछिल्ला वर्षमा संख्यात्मक वृद्धि त गरेको तर गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रश्न अझै टड्कारो रहेको उल्लेख गरे। सामुदायिक विद्यालयलाई मात्र सबल बनाउन सकेमा ग्रामीण भेगदेखि शहरसम्म शिक्षा पहुँच र गुणस्तरमा समानता ल्याउन सकिने उनको तर्क थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै खाँदवारी नगरपालिकाका प्रमुख महेश थपलियाले शिक्षा क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको भन्दै आवश्यक सहयोग गर्न पछि नपर्ने प्रतिबद्धता जनाए। उनले नगरक्षेत्रभित्र अब प्राविधिक विद्यालयहरू स्थापना र विस्तार अपरिहार्य भएको बताउँदै समयअनुकूल सीपमूलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए।
कनक्लेभमा सहभागी भएका विभिन्न शिक्षक संगठनका प्रतिनिधिहरूले पनि सामुदायिक विद्यालयलाई सबल बनाउन जोड दिएका थिए। अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भीमबहादुर कट्टेलले विद्यालयलाई सचेत, जिम्मेवार र प्रभावकारी बनाउन सबै तहका शिक्षक अग्रसर हुनुपर्नेमा जोड दिए। त्यस्तै, शिक्षक संघका उपाध्यक्ष खगेश्वर घिमिरेले आधारभूत तहलाई सक्षम बनाउन विषयगत शिक्षकको आवश्यकता तत्काल महसुस भइरहेको बताए।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष कृष्णबहादुर चापागाईंले शिक्षा सुधारमा शिक्षक, अभिभावक र स्थानीय सरकारबीच त्रिपक्षीय सहकार्य आवश्यक रहेको धारणा राखे। महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङका प्रधानाध्यापक मेदिनी घिमिरेले विद्यालयलाई “हाम्रो राम्रो विद्यालय” बनाउन सामूहिक प्रतिबद्धता अपरिहार्य भएको बताए।
प्रिन्सिपल्स एसोसियसन नेपाल (पान) का अध्यक्ष कुवेरप्रसाद भेटुवालले सामुदायिक विद्यालयहरूलाई नेपालको शैक्षिक समानता र सर्वसुलभताको मेरुदण्डका रूपमा व्याख्या गरे। उनले भने, “सामुदायिक विद्यालयको सुदृढीकरण नगरी गुणस्तरीय शिक्षा सम्भव छैन। यी विद्यालयहरूले २१औं शताब्दीका सीप विकासमा समेत महत्वपूर्ण योगदान दिन सक्छन् तर व्यवहारमा स्रोत, नीति र व्यवस्थापनसँग सम्बन्धित गम्भीर चुनौतीको सामना गरिरहेका छन्।
उनका अनुसार, सामुदायिक विद्यालयहरूले सर्वसाधारणलाई शिक्षा उपलब्ध गराउन सक्ने भए पनि सरकारले नीति तर्जुमा, स्रोत वितरण र व्यवस्थापन प्रणालीलाई अझै चुस्तदुरुस्त बनाउन आवश्यक छ।
कार्यक्रममा महत्वपूर्ण योगदान गर्ने संघ–संस्थाहरूलाई आयोजक पानले मायाको चिनो प्रदान गरेको थियो। साथै, कनक्लेभको समापनमा “खाँदवारी घोषणापत्र–२०८२” सार्वजनिक गरिएको छ। पानले सार्वजनिक गरेको ७ बुँदे घोषणापत्रमा सामुदायिक विद्यालयलाई सबल बनाउन शिक्षक दरबन्दी पूर्ति, आधारभूत तहको सुधार, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार, शिक्षामा पारदर्शिता, विद्यार्थीमैत्री वातावरण निर्माण, स्थानीय सरकारसँग सहकार्य, र नीति–व्यवस्थापनमा सुधारका मागहरू समावेश छन्।
कनक्लेभका सहभागीहरूले कार्यक्रमलाई ऐतिहासिक अवसरका रूपमा मूल्याङ्कन गरेका छन्। उनीहरूको भनाइमा, जिल्लामा पहिलो पटक सामूहिक रूपमा सामुदायिक विद्यालयको गुणस्तर सुधारबारे गम्भीर छलफल हुनु आफैंमा महत्वपूर्ण कदम हो। यसले शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवालाबीच साझा दृष्टिकोण निर्माण गर्नेमा मद्दत गर्ने अपेक्षा गरिएको छ।
शिक्षा क्षेत्रका विज्ञहरूको भनाइमा, नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको देशमा सामुदायिक विद्यालयलाई सबल नबनाई दीगो शैक्षिक सुधार सम्भव छैन। त्यसैले खाँदवारीमा सम्पन्न कनक्लेभले शिक्षा सुधारमा नयाँ ऊर्जा थप्ने र राष्ट्रिय बहसलाई पनि सशक्त गर्ने अपेक्षा गरिएको छ।