Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

PAN LMS

राष्ट्रिय शिक्षा संवाद–२०८२ काठमाडौंमा सफलतापूर्वक सम्पन्न

काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानाध्यापक संघ नेपाल (Principals’ Association of Nepal) द्वारा आयोजित राष्ट्रिय शिक्षा संवाद–२०८२, भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धर्म के.सी., नेकपा एमालेका ऐन महर, नेपाल कम्युनिष्ट पार्टीकी बलावती शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अली तथा श्रम संस्कृति पार्टीका आर्यन राईले आ–आफ्ना धारणा राख्दै शिक्षा प्रणालीलाई सीपमूलक, जीवनोपयोगी, व्यवहारिक, प्रविधिमैत्री र राष्ट्रिय आवश्यकतासँग जोड्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटा, शिक्षा विज्ञ विद्यानाथ कोइराला, हरि लम्साल तथा पूर्व शिक्षा सचिव महाश्रम शर्माले शिक्षा नीति, यसको कार्यान्वयन, संघीय संरचनामा देखिएका चुनौतीहरू र दीर्घकालीन सुधारका उपायहरूबारे महत्वपूर्ण विचार प्रस्तुत गर्नुभयो।

यस कार्यक्रममा UNESCO लगायतका अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू, काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी नवराज ढकाल, ललितपुर महानगरपालिकाका शिक्षा निर्देशक देवी प्रसाद उपाध्याय, शैक्षिक अभियन्ता तथा बृहत् राष्ट्रिय शैक्षिक अभियान नेपालका संयोजक Abhishek Ghimire,अभियन्ता हरिष ओली शिक्षा विज्ञहरू, प्रिन्सिपलहरू, शिक्षकहरू, शिक्षक महासंघका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य विषय शिक्षा नीति तथा यसको प्रभावकारी कार्यान्वयन, संघीय शिक्षा व्यवस्थापन, शिक्षक तथा प्रिन्सिपलहरूको भूमिका, र व्यवहारिक तथा रोजगारमुखी शिक्षाको विकासमा केन्द्रित रहेको थियो। सहभागीहरूले शिक्षक सशक्तीकरण, प्रविधिमैत्री शिक्षण, तथा सार्वजनिक र निजी शिक्षाबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका थिए।

यस राष्ट्रिय संवादले शिक्षा सुधारका लागि सबै सरोकारवालाबीच सहकार्य, समन्वय र दीर्घकालीन सोच आवश्यक रहेको स्पष्ट सन्देश दिएको छ। साथै, कार्यक्रमबाट प्राप्त सुझावहरू सम्बन्धित निकायहरूमा पेश गरिने र भावी शिक्षा नीतिमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।